काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको टोलीमा फरवार्ड बिमल घर्तिमगर र भरत खवास छैनन् । दुबै खेलाडीमा फिटनेसको समस्या भएकाले छनौटमा नपरेको बताइन्छ ।
सन् २०२० को विश्वकप छनौटको लागि अभ्यासको रुपमा रहेको यि दुई मैत्रीपूर्ण खेल खेल्न लागेको टोली दुई साताको प्रशिक्षण पश्चात घोषणा गरिएको थाहा भएको छ ।
नेपालले आगामी जेठ १९ मा मलेसियाको र जेठ २३ मा ताइपेईको सामना गर्ने तालिका रहेको छ ।
प्रशिक्षक कलिनले भने, ‘हाम्रो खेल्ने शैली निमार्णको क्रममा यो एउटा राम्रो अवसर आएको छ । हामीले दुईवटा तगडा प्रतिस्पर्धा अपेक्षा गरेका छौं र हामी अझै अघि बढ्न सक्छौं भन्ने विश्वास छ । ’
उनले खेलाडीको छनौट अभ्यास सत्रको प्रदर्शनको आधारमा गरिएको जानकारी दिए । केही खेलाडीले अभ्यासमा राम्रो गरेको र खेलमा उनीहरुले उक्त प्रदर्शन दोहो¥याउने विश्वास उनले गरेका छन् ।
उनले फिटनेसमा समस्या भएका बिमल, भरत र हेमन गुरुङलाई टोलीमा समावेश नगरिएको बताए ।
यस्तो छ नेपालको टोली
गोलरक्षक : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल
मिडफिल्डर/फरवार्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट ।